पछिल्लो समय युवा माझ चर्चित बनेको रियालिटी सो ‘हिमालय रोडिज’को विजेता धरानका समन श्रेष्ठ बनेका छन् । सोमबार राती ८ बजे हिमालय टेलिभिजनमा प्रशारित पहिलो सिजन अन्तर्गतको ग्राण्ड फिनालेबाट समन विजेता घोषित भएका हुन । धरानबाट अडिसन दिएका समनले  ८ लाख ८० हजार रुपैयाँ नगद र बजाज एभेन्जर वाइक प्राप्त गरेका छन् ।

त्यस्तै सिल्क एअरलाईन्सको हवाई सेवा रहेका देशहरू मध्ये कुनै पनि एउटा देशको टिकट उनले पाएका छन् भने एनसेलबाट एक थान आइफोन पनि पाएका छन् । राष्ट्रियस्तरका वाल तथा रक क्लाईक्बर समेत रहेका समनले फिनालेमा छोटो समयमा नै दिइएको टाक्स सकाएका थिए । त्यस्तै पोखराका अनिमेष शाहीले दोस्रो स्थानमा नै चित्त बुझाउनु परेको छ । उनले सल्क एअरलाईन्सबाट सिंगापुरको आतेजाते हवाई टिकट प्राप्त गरेका छन् । देशको विभिन्न सहरमा अडिसन गरी रोडिजमा जम्मा १७ जना छनोट गरिएको थियो । मुस्ताङको जोमसोम देखि रोडिजको पहिलो यात्रा सुरु गरिएको थियो । चार मिहनाको यात्रा पश्चात् फिनालेमा समन र अनिमेष पुगेका थिए । ललितपुरको लाकुरी भञ्जाङमा भएको ग्राण्ड फिनालेमा सहभागी हुन् भारतको चर्चित टेलिभिजन सो ‘एमटिभी रोडिज’को पहिलो सिजनका विजेता तथा हाल ‘एमटिभी रोडिज’ र टिभी सो ‘स्प्रिटसभिल्ला’का प्रस्तोता तथा निर्णायक रणविजय सिंह  पुगेका थिए ।