नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको  फिल्म ‘डिग्री माइला’ले बक्स अफिसमा आक्रमक ब्यापार गरेको छ ।  फिल्मले पहिलो दिन (शुक्रबार) देशभर २ सय बढी शोजमा ८० प्रतिशत अकुपेन्सी कायम गर्‍यो । शनिबार नयाँ वर्ष परेको हुँदा उपलब्ध शोजमा बिहानैदेखि उच्च अकुपेन्सी देखिएको छ । रामबाबु गुरुङ निर्देशित फिल्मको बुकिङ र ‘डोर सेल’ दुवै राम्रो देखिन्छ ।देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहित काठमाडौंका प्रायः हलमा शनिबार फिल्मलाई उपलब्ध अधिकांश शोज हाउसफुल भइरहेका छन् । मोफसलका हलमा पनि फिल्मको क्रेज राम्रो देखिएको छ ।  शनिबार दयाहाङको जन्मदिन समेत परेको छ । उनले कमलपोखरीस्थित बिग मुभिजमा फिल्मको टिमसँग केक काट्दै जन्मदिन सेलिब्रेट गरेका छन् ।यसैबीच, शनिबार शीर्ष गीत ‘म डिग्री माइला हो’ सार्वजनिक गरिएको छ । गीतमा पवन गिरीको स्वर छ भने स्वप्निल स्मृतिको शब्द रचना तथा झुमा लिम्बूको संगीत छ ।  । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । फिल्ममा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ ।