टिकटकर ‘कुल ब्वाई’ पारस बम ठकुरी अब फिल्ममा देखिने भएका छन् । उनले फिल्म ‘होस्टेल ३’बाट डेब्यु गर्न लागेका हुन् । बुधबार उनीसँग कार्यकारी निर्माता शंकर कोइरालाले कागजी सम्झौता गरेका छन् । होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरुको भविष्यका घटनामा आधारित रहेर बन्न लागेको फिल्ममा माधव शर्माको स्क्रिप्ट लेखन छ । यसको कथा निर्देशक शसान कँडेलकै हो । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँग सहकार्य गरेर निर्माण हुन लागेको फिल्मको निर्मातामा शिशिर ज्ञवाली रहेका छन् भने सह-निर्मातामा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् ।२०७० सालमा रिलिज भएको ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत र प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए । र, २०७२ सालमा आएको ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नाजीर हुसेन र सुशील सिटौलाको डेब्यु भएको थियो । दुवै श्रृंखलाका कलाकारहरु अहिले नेपाली फिल्ममा स्थापित छन् । ‘होस्टेल ३’लाई यस वर्षको अन्त्यतिर प्रदर्शनको तयारी गरिएको छ ।