‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ यही जेठ ११ गतेदेखि १३ गते सम्म ललितपुरमा तीन दिने नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने भएको छ ।
नेपालको फेसन उद्योग तथा यो क्षेत्रमा कार्यरत तथा रुचि राख्ने हजारौं व्यक्तिहरुका लागि फेशन, लक्जरी तथा ब्यूटी सेग्मेन्टहरुका बारेमा ज्ञान बाँड्न, सिक्न तथा बढ्नको लागि स्थापना भएको बिजनेस नेटवर्क प्लेटफर्म फेसन नेटवर्क नेपाल (एफएनएन) ले नेपालमै पहिलो पटक यो फेस्टिभल आयोजना गर्न लागेको हो ।
यो वृहत महोत्सव ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आगामी जेठ ११ गते शुक्रवारदेखि तीन दिनसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
फेसन नेटवर्क नेपालका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकारले नेपालको फेसन उद्योगका सबै सरोकारवालाहरूलाई सशक्तिकरण गर्ने, विकास गर्ने र उनीहरूलाई फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्ने उदेश्यले यो महोत्सव आयोजन गर्न लागिएको बताएका छन् । फेस्टिभल फेसन, ब्यूटी, लाइफ स्टायल र आर्टको समिश्रण हुनेछ ।