चलचित्र ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिएकी अभिनेत्री परीक्षा लिम्बु चलचित्र ‘पुजार सार्की’बाट पूर्ण भूमिकामा देखिँदै छिन्। ‘गौमाया’ पात्रको रुपमा ट्रेलर र गीतमा उनको अभिनय देखेपछी परीक्षा फिल्ममेकरको नजरमा परेकी छन्। परीक्षाले यस चलचित्रमा अडिसन मार्फत अभिनय सुरक्षित गरेकी थिइन्।
परीक्षा यस चलचित्रमा ‘मैतबहादुर’को चरित्रमा देखिएका अभिनेता प्रदीप खड्काको जोडीको भूमिकामा देखिँदै छिन्। प्रदीपसँग उनको यो पहिलो सहकार्य हो। ‘मैले प्रदीपजीबाट धेरै कुरा सिकेँ। उहाँ कसरी काम गर्नुहुँदो रहेछ र कसरी क्यारेक्टरमा बस्नुहुँदो रहेछ भन्ने थाहा पाएँ। व्यक्तिगत रूपमा उहाँ सहयोगी हुनुहुँदो रहेछ’, परीक्षाले भनिन्।
चलचित्रमा प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह प्रमुख भूमिकामा छन्। परीक्षालाई चलचित्रका तीन स्टारसँग सहकार्य गरिरहँदा के होला भन्ने चासो रहेछ। ‘उहाँहरू कसरी काम गर्नुहुन्छ अथवा मलाई कसरी ‘ट्रिट’ गर्नुहुन्छ होला भन्ने कौतुहलता र डर थियो। तर उहाँहरूलाई भेटिसकेपछि त्यो सबै हरायो। उहाँहरूसँग त केही सिक्न पाउँछु भन्ने अनुभव भयो’, उनले भनिन्।
परीक्षालाई ‘पुजार सार्की’बाट ठुलो आस छ। उनको बुझाइमा उनको उमेरका धेरै दर्शकले ‘पुजार सार्की’ हेर्नुपर्छ। ‘किनभने पछि गएर समाज र देशको भविष्य बनाउने हामीले नै हो। अहिलेका मानिसलाई जातीय विभेद गर्नु भनेर सम्झाउँदा अलिक समय लाग्छ, तर सानैदेखि नै जातीय विभेद गर्नुहुँदैन भनेर सिकाउन सकियो भने त्यो भविष्यका लागि फलदायी हुनसक्छ। चलचित्रले २०४६ मा हाम्रो समाज यस्तो थियो, अब यस्तो हुनुहुँदैन भन्ने सन्देश दिन्छ। कुनै बेलाको सती प्रथा हट्यो। त्यस कारण अब जातीय विभेद पनि हट्नुपर्छ भन्ने हाम्रो भनाई हो’, उनी भन्छिन्। 'पुजार सार्कि' आगामी जेठ १० गतेबाट रिलिज हुँदैछ ।