आगामी जेठ १० देखि २७ गतेसम्म कुञ्ज नाटक घरमा नाटक ‘म्यारिज प्रपोजल’ पुनः मञ्चन हुने भएको छ । आन्तोन चेखभको लेखनमा चे शंकरको छायानुवादमा यो नाटक मञ्चन गर्न लागिएको हो ।
कलासी प्रोडक्सनको प्रस्तुति तथा कर्मन कलासँगको सहकार्यमा बन्ने नाटकलाई सङ्गीत सापकोटा र आशिष घिमिरेले निर्देशन गरेका हुन् । विसंगतिवादी विषयवस्तुलाई समेट्दै मनोरञ्जनात्मकता झल्काउने प्रयास गरेको निर्देशक द्वय बताउँछन् । सन् १८९० को विषयवस्तुलाई समावेश गर्दै वर्तमान परिस्थिति सापेक्ष रूपमा नाटक तयार गरिएको बताइएको छ ।
नाटकमा विजया कार्की, डोरेस खतिवडा, चन्द्र नेपाली र सुन्दर धितालको अभिनय छ । कलाशी प्रोडक्सनले हालसम्म ‘२४ मा १२’,‘अधेरी नगरी चौपट राजा’,‘ज्ञानको चिहान’ र समय पीडा नाटक मञ्चन तथा निर्माण गरी मञ्चन गरिसकेको छ ।