भजन शिरोमणि भक्तराज आचार्यकोको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ रि-रिलिज हुने भएको छ । आगामी असार ७ गते चलचित्रलाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ ।

चलचित्रमा गायक आचार्यको भूमिकामा उनकै जेठा छोरा सत्यराज आचार्यले निवार्ह गरेका छन् । पहिलो पटक चलचित्र रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको उनले बताए । यो बुबाप्रति ट्रिब्युट पनि रहेको उनको भनाई छ । उनका अनुसार, नयाँ चलचित्रजस्तै गरी रिलिज गरिनेछ । आगामी साता ट्रेलर रिलिज गरिँदैछ ।

प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको चलचित्रमा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ । भजन शिरोमणी भक्तराज आचार्यलाई श्रद्धाञ्जली स्वरुप चलचित्र पुनः रिलिज गर्न लागेको छोरा स्वरुप राज आचार्यले बताए ।

चलचित्रमा गायक आचार्यको जीवनका अनेक पाटाहरु केलाइएको छ । उनले पाएको सफलता, उनले गरेको संघर्ष र उनले भोगेका दुःखको कथामा चलचित्र निर्माण गरिएको छ । २०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि यो चलचित्रले देखाउँछ ।

चलचित्रको निर्माण टिमले दिएको जानकारी अनुसार चलचित्रको ट्रिमिङ्ग तथा पुन सम्पादनको काम टुल्की निर्देशक देवजंग थापाले गरेका हुन् । चलचित्रमा भजन शिरोमणी तथा बरिष्ठ गायक भक्तराज आचार्यको निधन पश्चातका फुटेजहरु पनि समावेश गरिएका छन् । यस पटक आफुहरुले दर्शकलाई पूर्ण रुपमा बायोपिक चलचित्र देखाउन खोजेको अभिनेता सत्यराज आचार्यले बताए ।