चलचित्र 'पुजार सार्की' यही जेठ १० गतेबाट सिनेमा हलमा लाग्दै छ । प्रचार प्रसारको अन्तिम क्षणमा पनि निर्माण टिम डटेर लागिरहेका छन् । यसो त नेपालका तीन हिट कलाकारहरू अर्यान सिग्देल , प्रदिप खड्का र पल शाह एक साथ चलचित्रमा हुनुले पनि दर्शकमा एक खाले कौतुहलता र क्रेज 'पुजार सार्की'ले बनाई सकेको छ । त्यस माथि ट्रेलर र गीत सङ्गीतमा दर्शकको प्रतिक्रिया सुन माथि सुगन्ध भएको छ ।

चलचित्र रिलिज हुन २ दिन मात्रै बाँकी हुँदा कलाकार पल शाहले चलचित्रबाट आफ्नो पात्रको दुई तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा झट्ट हेर्दा पल नै हुन् र भनेर छुट्टाउन मुस्किल छ ।

पल शाह लेख्छन् "चलचित्र 'पुजार सार्की' रिलिज हुन अब मात्र दुई दिन बाँकी छ। मेरो करिअरमा महत्त्वपूर्ण चलचित्र “पुजार सार्की” साबित हुनेमा म ढुक्क छु। मैले केही दिन अगाडी पनि भनेको थिएँ की म अर्को चलचित्र ‘रावायण’को छायाङ्कनका कारण 'पुजार सार्की'को प्रचारमा प्रत्यक्ष सहभागी हुन सकेको छैन। मेरो भूमिका र प्रचारको सहभागिताका विषयमा मेरा शुभेच्छुकहरूले देखाउनु भएको चासो र चिन्ताप्रति नतमस्तक छु। थुप्रै सञ्चारमाध्यमहरूमा पनि मेरो खोजी भइरहेको खबर पाइरहेको छु। चाहेर पनि मैले प्रत्यक्ष रूपमा म यहाँहरूको अगाडी उपस्थित हुन सकेको छैन। मेरो यो बाध्यतालाई यहाँहरूले बुझिदिनुहुनेछ भन्ने अपेक्षा लिएको छु। आज मैले 'पुजार सार्की'मा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु। यो तस्बिरबाट तपाईँले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ। यसअघि पनि तपाईँले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनु भएको प्रेम अतुलनीय छ। जेठ १० गते, यही बिहीबार, बुद्ध जयन्तीको दिन देखि हल हलमा नै भेटौँ है।
- तपाईँको मेघराज खत्री "