जेठ १० गते बिहीबार रिलिज हुने चलचित्र ‘पुजार सार्की’ रिलिज अगावै दर्शकलाई देखाइएको छ। काठमाडौँका विभिन्न स्थानहरूमा सय बढी दर्शकमाझ गरिएको सर्भेबाट यो चलचित्र देखाइएको निर्देशक दिनेश राउतले बताए।

चलचित्र हेरेका दर्शकले चलचित्रलाई अत्यधिक रुचाएका छन् जहाँ दर्शकले चलचित्रको विषय, कलाकारहरूको अभिनय, प्रदीप खड्काको भूमिका, आर्यन सिग्देल तथा पल शाहको भूमिकाको पनि खुलेर तारिफ गरेका छन् ।

दिनेश राउत निर्देशित ‘पुजार सार्की’मा दर्शकको रोजाइका तीन अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ भएका पनि दर्शकको अपेक्षा उच्च रहेको छ ।  ट्रेलर रिलिजसँगै प्रदीपको अभिनयको प्रशंसा भइरहेको छ भने आर्यन र पलले निभाएको फरक भूमिकाको पनि चर्चा भइरहेको छ। यस चलचित्रमा अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।

चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए।

चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ। राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। चलचित्रको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।