चलचित्र 'एक्लो'मा बेलायती अभिनेता जेमी बेकनको अभिनय रहने भएको छ। चलचित्रमा उनको अभिनय रहने तय भएको निर्देशक प्रदीप शाहीले बताए । 'एक्लो'मा अभिनेता प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दीया पुनलगायत अनुबन्धित भइसकेका छन्।
साइन्स फिक्सन जनरामा बन्ने 'एक्लो'मा बेकनलाई निर्माताका रूपमा पनि साइन गरिएको जनाइएको छ। नेपाली र बेलायती फिल्मबिचको सम्बन्ध निर्माण गर्ने उद्देश्यले त्यसो गरिएको जनाइएको छ। जेमी बेकन नेटफ्लिक्स शृङ्खला 'ह्वाइट लाइन्स' र फिचर फिल्म 'ब्राइटन' मा रुचाइएका छन्।
'एक्लो' निर्देशक शाहीले यसअघि 'गोर्खा: विनिथ द ब्रेभरी' र 'अन्तिम संस्कार' निर्देशन गरेका थिए। शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ। हाल सेट डिजाइनको काम र प्री प्रोडक्सनको सुरुवात भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए। चलचित्र साउनको अन्तिमबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ।