आज जेठ १० गते बुद्ध जयन्तीको बिदाको अवसर पारेर दुई नेपाली चलचित्रहरू 'फर्की फर्की' र 'पुजार सार्की' एक साथ रिलिज भएका छन् ।
दिनेश राउत निर्देशित 'पुजार सार्की'मा सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका छन् । चलचित्रमा अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ। चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ।
वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको 'पुजार सार्की'लाई विकास सुवेदीले लेखेका छन्। राजेश श्रेष्ठको डिओपी रहेको 'पुजार सार्की'लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्।
यता रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।
'फर्की फर्की ' मा भने ‘टाइम लुप’को कथा प्रस्तुत गरिएको छ । चलचित्रको बुधवार प्रीमियर गरिएको थियो जहाँबाट 'फर्की फर्की'ले उत्साहजनक प्रतिक्रिया पाएको छ ।