'नुमाफुङ' निर्देशक नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त ट्रेलरमा गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले पारेको असरको कथा समावेश गरिएको छ। ट्रेलरमा बाबुछोराको सम्बन्धलाई विशेष प्राथमिकताका साथ देखाइएको छ ।


‘गाउँ आएको बाटो’मा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य भूमिका रहेको छ । जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रले २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरूमा सहभागिता जनाइसकेको छ ।


टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको चलचित्र का निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् ।