बिहीबार बुद्ध जयन्तीको दिन प्रदर्शनमा आएको चलचित्र 'पुजार सार्की'को तेस्रो दिन शनिवार चलचित्रको व्यापार अझै आक्रामक देखिएको छ।

शनिवार बिहानै देखि देशभरका सबै हलमा हाउसफुल व्यापार देखिएको छ। दोस्रो शो हरूमा पनि उल्लेखनीय व्यापार देखिएको छ भने मध्यान्हदेखिका प्राय: शो हाउसफुल भइरहेको वितरक रोहित कट्टेलले बताए। 

विकास सुवेदीले लेखेको यो चलचित्रका निर्माता सुवास भुसाल हुन्। चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ। चलचित्रले जातीय विभेदको विषयमा ठुलो प्रश्न खडा गरेको छ। चलचित्रलाई देशभरका दर्शकले अत्यधिक मन पराइरहेको रिपोर्टहरू प्राप्त भएका छन्। ओभरसिजमा पनि ‘पुजार सार्की’ले आक्रामक व्यापार सहित उत्कृष्ट प्रतिक्रिया मिलिरहेको बताइएको छ।