धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र 'खुस्मा'को छायाङ्कन सकिएको छ । पहिलो चरणमा मनाङमा र दोस्रो चरणको छायाङ्कन पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा गरिएको हो ।
निर्माण टिमले दिएको जानकारी अनुसार ४० दिनमा चलचित्रको एक गीत बाहेकको छायाङ्कन प्याक अप भएको हो । मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बिच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् ।
चलचित्रका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन रहेको छ ।
चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्का बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा एसडी योगी र छान्जु पार्क (कोरियन)को सङ्गीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । 'खुस्मा' असोज ३ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ ।