चलचित्र 'होस्टेल ३'मा प्रमुख भूमिकाको लागी रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ। यसअघि नै चलचित्रमा चर्चित 'कुल ब्वाय' अर्थात् पारस बम अनुबन्धित भइसकेका छन् । यी चार कलाकारसँगै चलचित्रको लाइनअप पुरा हुने क्रममा रहेको निर्देशक सशान कँडेलले बताए।
चलचित्रबाट डेब्यु गर्न लागेका रिहान गिरी भुटानका नागरिक हुन्। उनी नेपाली गायन रियालिटी शो 'भ्वाइस अफ नेपाल'को चौथो संस्करणको टप १० फाइनलिस्ट समेत हुन्।
अर्को प्रमुख भूमिकामा अनुबन्ध भएका पदम तामाङ भारतको सिक्किमका स्थायी बासिन्दा हुन्। उनी सिक्किममा बहुचर्चित कमेडी कलाकार हुन् जो नेपालको पूर्वी क्षेत्रमा समेत अत्यन्तै चर्चित रहेका छन्। सोसल मिडियामा चर्चित रहेका उनका लाखौँ 'फ्यान' रहेका छन्।
चलचित्रमा सशक्त भूमिकामा अनुबन्धित भएकी सिम्रन पन्तले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण लिएकी छन्। सिम्रनले केही म्युजिक भिडिओ र एक दर्जन विज्ञापनमा अभिनय गरेकी छन्।
निर्देशक कँडेलले यस चलचित्रमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताएका छन्।
'होस्टेल ३'को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन्। यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्।