चलचित्र 'चित्रा'को पोखरा स्थित हिमाज सिनेमा लामाचौरमा विशेष शो गरिएको छ । आफ्नै गृह जिल्ला पोखरामा गरिएको उक्त शोमा 'चित्रा'का कलाकार एवम् कार्यकारी निर्माता सन्तोष अधिकारीको पनि सहभागिता रहेको थियो । अभिभावक साथै चलचित्र सङ्ग सुभेक्षा राख्ने विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको उक्त विशेष प्रदर्शनीमा चलचित्र र कलाकार दुवैले राम्रो प्रतिक्रिया पाएका छन् ।
'चित्रा' हाल अस्ट्रेलिया र क्यानडामा प्रदर्शन भइरहेको छ भने, युरोपका सहर र अमेरिकामा पनि प्रदर्शन गर्ने तयारी गरिएको छ । साथै, 'चित्रा २' बनाउने तयारी भइरहेको समेत निर्माता सन्तोष अधिकारीले जानकारी दिएका छन् ।
घनश्याम लामिछानेको निर्देशनमा बनेको यो चलचित्रले बाबु-छोरीको कथा भन्छ । चलचित्रमा मुख्य पात्र बाबु बनेका सन्तोष अधिकारीले यसै चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन् । नेपालमा आयोजना गरिएको प्रिमियरमा समेत थुप्रै चलचित्रकर्मीहरूले चलचित्रको कथाले मन छोएको बताउँदै डेब्यू अभिनेता सन्तोष अधिकारी, अभिनेता प्रमोद अग्रहरी, सिम्रन खड्का तथा बाल कलाकार आयुशी खड्काको कामको तारिफ गरेका थिए।
चलचित्रमा सन्तोष, प्रमोद र सिम्रनका अलावा शुभेच्छा खड्का, अर्पण थापा, मेनुका प्रधान, प्रकाश घिमिरे, अञ्जना बराइली, आयुशी ढकाल, कुमार गुरुङ उज्ज्वल ढकाल लगायत को अभिनय रहेको छ। महेश पौडेलको छायाङ्कन रहेको चलचित्रमा राजनराज सिवाकोटीको सङ्गीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ।
चलचित्रका निर्माता आशिष थापा मगर हुन् भने एसोसिएट निर्मातामा राज श्रेष्ठ रहेका छन् । चलचित्रमा बनिश शाह र सन्देश शाहको संयुक्त सम्पादन छ।