पछिल्लो समय नेपाली चलचित्र बजार बिस्तार बढ्दो छ । सिनेमाको बजार बिस्तारसँगै कलाकारहरूले पनि आफ्नो पारिश्रमिक बढाउन थालेका छन् । पारिश्रमिकको कारण चर्चामा आउने नायकमा अनमोल केसी, प्रदिप खड्का अगाडी छन् । केही समय अघि नायक पल शाहले एउटा चलचित्रको लागी महँगो पारिश्रमिक लिएको चर्चा थियो । तर उक्त चलचित्र पलले पछि छाडिदिए । नायकहरुले पारिश्रमिक बढाउने दौडमा अभिनेता बिपिन कार्की पनि थपिएका छन् । सिनेमा क्षेत्रमा भर्सटाइल कलाकारको उपाधि पाएका बिपिनले हालै एक चलचित्रको लागी १७ लाख लिएको खुलासा भएको छ । निर्देशक निश्चल बस्नेतले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘फनफनी’को लागी बिपिनले १७ लाख लिएको खुलेको हो । बुझिए अनुसार निश्चलले यो चलचित्र निर्देशन गरे बापत २५ लाख पारिश्रमिक लिदै छन् । टेलि सिरियल भद्रगोल टिमले निर्माण गर्न लागेको चलचित्रको हाल कथाको काम भइरहेको छ भने चलचित्रको लागी नायिकाको खोजी भइरहेको बुझिएको छ ।