अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखेर चलचित्र 'मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टर बाट चलचित्रमा वर्षाको भूमिका निकै महत्त्वपूर्ण रहेको अनुमान लगाउन सकिन्छ। यसअघि नै अमर र वर्षाको क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरिएको थियो । 'सर्कल थिम'मा रहेको यो नयाँ पोस्टरमा पृष्ठभूमिमा राखिएका पुल लगायतका दृश्यहरूलाई समेत घुमाइएको छ। पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो चलचित्रको केही झल्को पोस्टरले दिन्छ ।
चलचित्रलाई लिएर जिज्ञासा बढाउने यस पोस्टरको डिजाइन कलात्मक पोस्टर डिजाइनरको रूपमा चिनिने रोयल भीमसेनले गरेका हुन्।
चलचित्रमा अमर, वर्षा, प्रवीण, रेजिना, दिलीप सहित सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय रहेको छ। डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्।
चलचित्रका गीतहरूमा शान भुसाल र एसडी योगीको सङ्गीत, राम अविरल बिस्ट र शान भुसालका शब्द रचना तथा स्वरूप राज आचार्य, एसडी योगी, एरिका खाती र विज्ञानी पराजुलीको स्वर रहेको छ। यसमा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ।
'मोदीबेनी' आगामी श्रावण १८ गते रिलिज हुँदैछ ।