चलचित्र 'घरज्वाइँ'को युट्युबमा सार्वजनिक ट्रेलरले निकै राम्रो प्रतिक्रिया पाएको छ । चलचित्रको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरको कमेन्टमा दर्शकले रुकुमलाई निकै राम्रो सङ्ग प्रस्तुत गरिएको, कथावस्तु निकै अर्ग्यानिक भएको, दया मिरुनाको जोडी निकै राम्रो देखिएको लगायतका धेरै उत्साहजनक प्रतिक्रिया दिएका छन् ।
सार्वजनिक ट्रेलर मा एक युवाले बिहेको लागि गर्ने सङ्घर्षको वरिपरि चलचित्रको कथा घुमेको देखिन्छ । मगर समुदायको संस्कार तथा संस्कृतिमा आधारित सिनेमालाई विश्वभर छरिएका नेपालीलाई मगर समुदायमा प्रचलित 'घरज्वाइँ' प्रथाको बारेमा जान्ने र बुझ्ने अवसर दिने निर्माता जनक घर्ती मगरले बत्ताउँछन् ।
अनिल बुढा मगर निर्देशित चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगर लगायत कलाकारको अभिनय छ ।
चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
चलचित्रका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ भने 'घरज्वाइँ' असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।