चलचित्र '१२ गाउँ'को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी दशैंमा प्रदर्शनमा आउने चलचित्र लाई अभिनेता विराज भट्टले निर्देशन गरेका हुन् । उक्त चलचित्रबाट अभिनेता विराज भट्टका छोरा समीर भट्टले डेव्यु गर्दैछन् ।

समीरको डेव्यु चलचित्र भएका कारण पनि '१२ गाउँ' निर्माण घोषणादेखि नै चर्चामा छ । विराजले नेपाली चलचित्र इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी '१२ गाउँ' मार्फत गरेका छन् । 

निर्देशक विराजका अनुसार अबको १० दिनमा चलचित्रको प्याक अप हुनेछ । चलचित्रमा समावेश एक्सन दृश्यको छायाङ्कन भारतको मुम्बईमा गर्नु पर्ने भएकाले अबको १० दिनमा सम्पूर्ण छायाङ्कन सकिने उनको भनाई छ ।

 यही चलचित्रबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् । चलचित्रमा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेल र निरजको सङ्गीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । चलचित्रमा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन-थ्रिलर कथामा बन्न लागेको चलचित्रका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायाङ्कन रहेको चलचित्रको काठमाडौँ, ललितपुर, वीरगन्ज र हेटौँडामा छायाङ्कन गरिएको हो ।