फस्टलुक सार्वजनिक भएसँगै चर्चामा रहेको चलचित्र 'आउट लः दफा २१९'को टिजर केही दिनमै सार्वजनिक हुँदैछ ।
चलचित्रमा नायक सुशील श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् । यसैबिच, निर्माणपक्षले सुशीलको केही तस्बिर सार्वजनिक गरेको छ । जहाँ, सुशील नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टरमा देखिन्छन् ।
यसले, चलचित्रमा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्सन होला भन्ने कौतुहलता दर्शकमाझ बढ्ने निश्चित छ । चलचित्रको टिमले त्रिभुवन विमानस्थलमा रहेको नेपाल आर्मीको हेलिकप्टर पार्किङ एरियामै फिल्मको छायाङ्कन गरेको हो ।
अमित अग्रहरीको निर्माणमा तयार भएको यो चलचित्रलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । विक्की महर्जनकै लेखन रहेको यो चलचित्रमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय हेर्न सकिन्छ ।
नविन गुरुङको डीओपी रहेको यो फिल्ममा साहिल खानको सम्पादन छ । चुल्ठे काजीको एक्सन रहेको चलचित्रका प्रोडक्शन म्यानेजर ईश्वर घिमिरे हुन् । चलचित्र असोजको ३ गतेबाट रिलिज गर्ने तयारीमा यसको निर्माण पक्ष छ ।