असार २८ गते देखी प्रदर्शनमा आउने चलचित्र ‘घरज्वाइँ’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको छ ।
चलचित्रलाई क्युएफएक्सले देशभरका ४० स्क्रिनमा ५७ शो, आईएनआई सिनेमाज्ले १३ शो, एफक्युबले ६ शो, बिएसआर मुभिजले ५ शोज दिएका छन् । यस्तै, वान सिनेमाज्, सिके सिनेमाज्, रञ्जना सिनेप्लेक्स, विश्ज्योती सिनेमाज्, सिने डी सेफ लगायतका सिनेमा हलले पनि अग्रिम टिकट बुकिङ खुल्ला गरी सकेका छन् । शुक्रबारसम्ममा करिब ३०० हाराहारी शो चलचित्रले पाउने विश्वास निर्माण टिमलाई छ ।
चलचित्रले प्रिमियरमा पाएको उत्कृष्ट प्रतिक्रियाले पनि ‘घरज्वाइँ’को ओपनिङ्ग राम्रो हुने देखिएको छ ।
‘घरज्वाइँ’लाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको चलचित्रको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
अनिल बुढा मगरेको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ । चलचित्र असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुनेछ ।