देश तथा विदेशका विभिन्न फिल्म महोत्सव तथा अवार्ड कार्यक्रममा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्र ‘बुलाकी’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । निर्माण टिमले चलचित्रलाई आगामी साउन ३२ गतेबाट दर्शकमाझ ल्याउने निर्णय गरेको हो ।
गत वर्षको वैशाख १ गते प्रदर्शनमा आउँदा परिस्थिति बस् भन्दै निर्माण टिमले दुई दिनमै चलचित्रको प्रदर्शन स्थगित गरेको थियो । तर विभिन्न महोत्सवमा चलचित्रले पाएको उत्साहप्रद प्रतिक्रिया, दर्शक तथा शुभचिन्तकहरूको माग र चाहना अनुसार चलचित्रलाई पुनः प्रदर्शनमा ल्याउने निर्णयमा पुगेको प्रमुख कलाकारसमेत रहेका प्रस्तुतकर्ता विराज विष्टले बताए ।
चलचित्रलाई पुनः सम्पादनसहित यो बिचमा देखिएका कमी कमजोरीलाई थप सुधार गर्दै थप उत्कृष्ट बनाएर दर्शकमाझ ल्याउन लागेको समेत विष्टले उल्लेख गरेका छन् ।
स्व . मोती विष्टको प्रस्तुति तथा टोपेन्द्र विष्टको निर्माणमा बनेको ‘बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । चलचित्रमा शिव ढकालको छायाङ्कन र अर्जुन जिसीसँगै निर्देशन सुनारको सम्पादन छ ।
‘बुलाकी’मा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायतको अभिनय रहेको छ ।