चलचित्र 'मोदीबेनी'का कलाकारहरू वर्षा सिवाकोटी,अमर प्रताप श्रेष्ठ लगायत अन्य कलाकारहरुले बागमती नदिमा र्‍याफ्टिङको शुभारम्भ गरेका छन्। नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्रा अन्तर्गत शनिवार र्‍याफ्टिङको शुभारम्भ भएको हो।

उपस्थित कलाकारहरुले थापाथली पुलबाट चोभारसम्म र्‍याफ्टिङ गरेका थिए। बागमती सभ्यतालाई बचाउन नागरिकलाई जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष बागमतीमा र्‍याफ्टिङको आयोजना हुने गर्छ, जहाँ सयौँ जनाले एकसाथ र्‍याफ्टिङ गर्ने गर्छन्। आइतबारदेखि थापाथली देखि चोभारसम्म सर्वसाधारणले पनि र्‍याफ्टिङ गर्न पाउनेछन्। यसको लागि विद्यार्थीलाई पाँच सय र अन्यलाई नौ सय रुपैयाँ तोकिएको छ।

काठमाडौंमा पनि र्‍याफ्टिङ नियमित हुनु भनेको ऐतिहासिक काम भएको र यो सबैको देन बागमती सभ्यता अभियानलाई जाने सामाजिक अभियन्ता चक्र चन्दले बताए। 

शङ्कर कोइरालाले निर्देशन गरेको 'मोदीबेनी'मा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, सुरेन्द्र बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ। चलचित्र श्रावण १८ गते रिलिज हुँदैछ ।