चलचित्र 'के घर के डेराः घर नम्बर २'मा अर्यान सिग्देलको प्रबेशसँगै लाइनअप बलियो बनेको छ । निर्माणपक्षले चलचित्रका मुख्य तीन पुरुष पात्रहरू फाइनल गरेको छ । चलचित्रमा यसअघि नै खगेन्द्र लामिछाने, निश्चल बस्नेत फाइनल भइसकेका छन् ।
चलचित्र निर्माण पक्ष र आर्यनबिच लिखित सम्झौता भइसकेको छ । चलचित्रमा आर्यनको कस्तो भूमिका छ भन्ने विषयमा भने केही पनि खुलाइएको छैन । तर, आफ्नो भूमिका र चलचित्रलाई लिएर आर्यन भने उत्साहित देखिएका छन् ।
आर्यनले अभिनय गरेको चलचित्र ‘पुजार सार्की’ जेठ १० गतेबाट रिलिजमा आएको थियो जुन बक्स अफिसमा हिट भयो । यसपछि, आर्यनको माग बढेको देखिन्छ ।
दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायाङ्कन साउनको २५ गतेबाट सुरु हुँदै छ । निर्माण पक्षका अनुसार, अब चलचित्रका लागि मुख्य दुई नायिका फाइनल गर्न बाँकी छ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको कथा बुद्धि सागरले लेखिरहेका छन् । चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
सामाजिक कथावस्तुलाई प्रस्तुत गरिने यो चलचित्रलाई यही वर्ष रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।