नायक पल शाह र नायिका बेनिशा हमालको मुख्य भूमिका रहने गरी चलचित्र 'कल्ली'को निर्माण घोषणा गरिएको छ । चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । 'बुलाकी'बाट राम्रो तारिफ पाएका निर्देशकले यो चलचित्रमा पनि केही फरक र विशेष गर्ने अपेक्षा गरिएको छ । चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद छ ।

छायांकन अगावै निर्माणपक्षले पोस्टर सार्वजनिक गर्दै पल र बेनिशाको गेटअप समेत प्रस्तुत गरेको छ । सार्वजनिक तीन पोस्टरमा पल शाह एङ्ग्री अवतारमा देखिएका छन् भने बेनिशाको अवतार केही भिन्न छ । हातमा अग्नी बोकेकी बेनिशाको गेटअपले दर्शकलाई केही फरक अनुभूति हुने निश्चित छ । एउटा पोस्टरमा बेनिशाको आँखाबाट आँशु झरेको देख्न सकिन्छ ।

नायक पल शाह र नायिका बेनिशा हमालले पहिलो पटक एकसाथ पर्दामा काम गर्न लागेका हुन् । चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । चलचित्र चैत्रको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ ।

'कल्ली'को छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । तिहारपछि चलचित्रको छायांकन सुरु हुनेछ । 

 

cinepati