साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र 'बुलाकी' ले नयाँ प्रचारात्मक गीत 'सधैँ पछि परन्या हुन् स्त्री' सार्वजनिक गरिएको छ । पछिल्लो क्रममा महिला प्रधान मानिएका चलचित्रमा समावेश हुँदै आएका यो प्रकारका गीत दर्शक श्रोतामाझ लोकप्रिय छन् ।
छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माण भएको 'बुलाकी'को उक्त गीतमा स्वर पछिल्लो पुस्ताकी चर्चित गायिका समीक्षा अधिकारीको छ भने शब्द सङ्गीत बाबुल गिरीको छ । एरेञ्जको र मिक्सिङको काम धनबहादुर गिरी (बाबुल) ले नै गरेका छन् । चलचित्रमा समावेश दृश्यहरूलाई जोडेर तयार गरिएको गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय विराज विष्ट र नरेन खड्कासहित कलाकारहरू सरस्वती खत्री, रमेश बुढाथोकी, सुशील पोखरेल लगायतलाई प्रस्तुत गरिएको छ ।
पश्चिम नेपालको गहिराईमा पुगेर सम्पूर्ण नेपालीको जीवन दैनिकीलाई चित्रण गरिएको विशुद्ध मौलिक कथा भनिएको यो चलचित्रले देश तथा विदेशमा सम्पन्न विभिन्न ख्यातीप्राप्त अवार्ड तथा चलचित्र महोत्सवहरूमा उत्कृष्ट चुनिँदै आएको छ । नेपाल सरकारबाट विशेष चलचित्रको अवार्ड प्राप्त यो चलचित्रलाई लक्ष्मण सुनार निर्देशन गरेका हुन् ।
स्व . मोती विष्टको प्रस्तुतिमा बनेको 'बुलाकी'लाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । अर्जुन जिसीको सम्पादन र शिव ढकालले छायाङ्कन गरेको चलचित्रको प्रोडक्सन हेड धनबहादुर राई हुन् ।
चलचित्रमा कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायतको पनि अभिनय छ ।