चलचित्र 'लाज शरणम्'को प्रि–प्रोडक्सनको काम सङ्गै कलाकार पनि छनोट भईरहेका छन् । यसैबिच चलचित्रमा हरिष निरौला (कक्रोज) अनुबन्धित भएका छन् । निर्माण टिमले बिहीबार कक्रोजको पनि अभिनय रहने जानकारी दिएको हो । चलचित्रमा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने देखिएको छ ।

गत साउनमा चलचित्रका लेखक तथा निर्देशक कुमार कट्टेलको जन्मदिनको अवसरमा औपचारिक निर्माण घोषणा गर्दा चलचित्रमा ‘सक्किगोनि’ टिमबाट सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), र कमलमणी नेपाल (खुपीका बाउ)को अभिनय रहने जानकारी दिइएको थियो । आफ्नो टिम बाहिरबाट मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बुको अभिनय रहने फाइनल थिए । बाँकी कलाकारको जानकारी बिस्तारै दिने बताइएको थियो ।

अहिलेसम्म चलचित्रमा राम भजन कामत, बबिन राई (गल्फने बाजे), प्रियना आचार्य (मुन्नी) ‘सक्किगोनि’ टिमबाट र बाहिरबाट अभिनेता महेश त्रिपाठी र अभिनेत्री रेनु नाथ योगी अनुबन्धित भैसकेका छन् । आगामी भदौ तेस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्र फागुन १४ गते महाशिवरात्रिको अवसरमा नेपालभरका हलमा रिलिज हुनेछ । 

cinepati