अभिनेता सौगात मल्ल अभिनीत चलचित्र ‘बम बहादुर’ कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ।
चलचित्रका निर्देशक जोन राईले चलचित्रमा सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामाको सम्मिश्रण रहेको बताए। उनले यस चलचित्रले बम बहादुर नामक पात्रको जीवनमा चार दशक पहिले भएका घटनाहरूको छायाले कसरी वर्तमानमा उनको जीवनलाई प्रभावित बनाएको कथा प्रस्तुत गर्ने जनाए।
बिस्ट ब्रदर्स फिल्म्स प्रा लि को निर्माणमा बनेको यस चलचित्रको प्रमुख भूमिकामा सौगात मल्लको साथमा कलाकारहरू प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, रिया भुजेल, शान्तिला तामाङ, बाल कलाकार वाशित कार्की, सुरेश पाँचकोटी लगायतको अभिनय रहेको छ।
‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन्। जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस चलचित्रको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन्। सङ्गीत तथा गीत दीपङ्कर सिंह मुखियाले तयार पारेका हुन् भने ब्याक ग्राउन्ड स्कोर इजाज अलीले गरेका छन्। वितरण आरआर फिल्म्सले गर्नेछ ।