चलचित्र ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैँ’ सार्वजनिक भएको छ । कल्याण सिंहको सङ्गीत तथा हर्क साउदको शब्द रचना रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ ।
गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती फिचर्ड छन् । चलचित्रमा अभिनेता विपिन कार्की दोहोरो भूमिकामा देखिएका छन् । चलचित्रमा विपिनको जवान र बृद्ध गरी दुई फरक अवतार दर्शकले हेर्न पाउने छन् ।
चलचित्रमा शंकर घिमिरेको लेखन तथा निर्देशन रहेको छ । ‘तेल भिसा’बाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दै छन् । यसअघि उनले ‘विष’, ‘विरताको चिनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका चलचित्र निर्माण तथा निर्देशन गरेका थिए ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता रहेको ‘तेल भिसा’मा सुशन प्रजापतिको छायाङ्कन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको सङ्गीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ । चलचित्र आगामी मङ्सिर ७ गतेबाट नेपाल सहित विदेशमा एकसाथ प्रदर्शनमा आउँदै छ ।