चलचित्र ‘आउट लः दफा २१९’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । यसको निर्माणपक्षले आज एक विज्ञप्ती जारी गर्दै चलचित्रको छायाङ्कन र प्राविधिक काम बाँकी रहेकाले असोज ३ गतेबाट चलचित्र रिलिज गर्न नसक्ने जानकारी दिएको हो ।
निर्माणपक्षले दर्शकहरूले एउटा उत्कृष्ट चलचित्र हेर्नका लागि प्रतिक्षा गरेको भन्दै सोही अनुसारको चलचित्र बनाउन समय लागेको बताएको छ ।
चलचित्रको फस्ट लुक, टिजरबाट प्राप्त प्रतिक्रियाले आफूहरू उत्साहित रहेको भन्दै निर्माणपक्षले चाडै नै नयाँ रिलिज मिति तय गर्ने बताएको छ ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरूको मुख्य भूमिका छ ।
चलचित्रमा अमित अग्रहरिको लगानी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह–निर्माताको रूपमा छन् ।
चलचित्रमा नवीन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन रहेको छ ।