चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सँगै रिलिज डेट पनि सार्वजनिक भएको छ । चलचित्र पुसको २६ गते प्रदर्शन गर्ने तयारी गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका दुई मुख्य पात्र दयाहाङ राई र सिर्जना निङलेखु छन् । यम शेर्पा निर्देशित चलचित्रको अघिल्लो हप्ता मात्रै छायाङ्कन सकिएको थियो ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा खिचिएको हो ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा चलचित्र निर्माण गरिएको हो । सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रमा निर्देशक शेर्पा स्वयंको पटकथा र संवाद छ ।
चलचित्रमा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको अभिनय छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
गोविन्द बोहरा सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता आङछिरिङ शेर्पा, लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन् ।
मनोज थापा मगर, बरिष्ठ सेलो गायक एवम् सङ्गीतकार विश्व दोङको सङ्गीत रहने चलचित्रको मुख्य सहायक निर्देशकमा सुदीप कुँवर, अभि लामाको कोरियोग्राफी रहेको छ ।