असोज ३ गते देखी प्रदर्शनमा आउने चलचित्र ' खुश्मा'ले प्रचारप्रसारलाई तिब्रता दिएको छ । प्रचार कै क्रममा चलचित्रका मुख्य पात्रमा रहेका धिरज मगर र उपासना सिंह ठकुरीले कलेज पुगेर युवाहरू सङ्ग अन्तरक्रिया गरेका छन् । उक्त अन्तरक्रियाको क्रममा चलचित्रको टिजर र गीत मन परेको प्रतिक्रिया कलेजका विद्यार्थीले दिएका थिए । 

यसो त चलचित्र 'खुश्मा'को 'रुकुम मैकोट' बोलको गीतको चर्चा चुलिएको छ । लामो समयपछि नेपाली चलचित्रको गीतले युट्युब ट्रेन्डिङमा एक नम्बरमा बस्न पनि सफल भएको छ ।  

नेपाली चलचित्र नगरीको इतिहास केलाउने हो भने जुन चलचित्रको गीत रुचाइएको छ, त्यो चलचित्र हलमा पनि  चलेको छ । त्यसैले ‘खुस्मा’को गीत मन पराइनुले यसले दर्शकको मन जित्ने संकेत गरेको छ । 

एकातिर चलचित्रले मौलिक विषय उठान गर्नु, अर्कोतिर चलचित्रका मुख्य चरित्र मौलिक भेषभुषामा हुनु र दर्शकले त्यसलाई रुचाउनु चलचित्र पनि दर्शकको रोजाइमा पर्छ भन्ने आधार हुन् ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखक तथा निर्देशन अशोक थापा मगर हुन् । चलचित्रको निर्मातामा वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्। चलचित्रमा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

चलचित्रमा धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्गबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर ,अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बिच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।

एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्दै छ ।