चलचित्र ‘१२ गाउँ’को पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ सार्वजनिक भए सँगै चर्चामा आएको छ । सार्वजनिक भएको केही घण्टामा नै गीत ले ट्रेन्डिङ्ग यात्रा सुरु गरिसकेको थियो भने गीत अहिले ट्रेन्डिङ्ग २ मा रहेको छ । गीतमा डेव्यु अभिनेता समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन् ।
सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द रचना तथा सङ्गीत र बलिउड गायक नकाश अजिजको स्वर सुन्न सकिन्छ । गीत सार्वजनिक भएसँगै दर्शकले समीरको एक्सनसँगै डान्स पनि उत्कृष्ट रहेको प्रतिक्रिया कमेन्ट बक्समा देख्न सकिन्छ ।
एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र '१२ गाउँ'बाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । चलचित्रमा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जङ्ग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।
विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेल र निरजको सङ्गीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीण केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । चलचित्रमा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।
एक्सन-थ्रिलर कथामा बनेको चलचित्रका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको चलचित्रको काठमाडौँ, ललितपुर, विरगञ्ज र हेटौँडामा छायांकन गरिएको छ ।