असोज ३ गतेबाट प्रदर्शनको तयारी रहेको ‘खुस्मा’का मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरी प्रचारको दौडधुपमा व्यस्त छन् । यही शिलशिलामा शनिबार अभिनेता धिरज मगर नेपाल मगर साँस्कृतिक सङ्घ विशेष उपत्यका समितिले आयोजना गरेको खुल्ला मौलिक कौराह (कानराहा) नृत्य प्रतियोगिता कार्यक्रममा पुगेका थिए ।
यो कार्यक्रमको प्रमुख अतिथिका रूपमा पूर्व उपराष्ट्रपति नन्द किशोर पुन उपस्थित थिए । सोही कार्यक्रममा बोल्दै जनयुद्धको परिवेशमा मगर संस्कार र संस्कृति समेटेर निर्माण गरिएको आफ्नो चलचित्र हेर्न निम्तो दिए ।
उक्त कार्यक्रममा अभिनेता मगरले ‘रुकुम मैकोट’ गीतमा नृत्य समेत गरेका थिए । पूर्व उपराष्ट्रपति नन्द किशोर पुनले अभिनेता मगरलाई कार्यक्रममा मगर साँस्कृतिक संघको लोगो अङ्कित पगरी लगाइदिँदै सफलताको शुभकामना दिए । रुकुमको तकसेरामा जन्मेको मगरको छोरो जो युकेमा हुर्केर नेपाल फर्केर मगर संस्कृतिलाई चलचित्रबाट विश्वलाई चिनाउन लागि परेको भन्दै आफूले समय मिलाएर ‘खुस्मा’ हेर्ने बाचा समेत गरेका थिए ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।