जब झिम्क्यायौ परेली तिमीले

घुम्दा घुम्दै रोकिएको छ 
टक्क
टेबुलमाथीको बूढो समय

छानामाथी प्रेम पत्र लेखिरहिछे मैना चरी 
झ्यार झ्यार रेडियो फलाकीरहेछ समाचार 

आँगन छेउको बिस्कुन बजाइरहेछ थपडी 
दम रोगीझैँ खङ खङ खोकी रहेछ भान्साकोठा

कपडाबाट भुइँमा खसीरहेको धुलोलाई अझै बच्चासगैँ खेलिरहनु छ 
सालको पातमा लेखिएको अन्जान प्रेमिकालाई  
माकुराको जालोमै अल्झिरहनु छ

जिस्किरहनु छ बतासका 
हत्केलाहरुलाई अझै
तरुनी युवतीको नाभीसँग 
हिडिरहनु छ प्वाँखका पैतलाहरुलाई  अझै
आफैलाइ छाडी उडेका पखेटाहरुसँग 

गुलेलिबाट भर्खरै उम्किएको ढुंगाको मुटुलाई  पुग्नु छैन चराको छातीसम्म
हातबाट भर्खरै लडिगएको मनलाई  पुग्नुछैन परदेसको माटोसम्म 
र पुग्नु छैन कतै जुनकिरीहरुको देस उज्यालाहरुको यात्रालाई 

आज
घुम्दा घुम्दै रोकिएको छ 
टक्क 
टेबुलमाथिको बुडो समय

झिम्क्यायौ परेली तिमीले जब

यतिबेला मलाई एक युग बाँच्नु छ ।