कतिपय आधारभूत रहरबाट पर…छुट्टै एक्लै बसेर आफैलाई चिथोर्नुको अन्दाज आफैलाई थाहा नहुन सक्छ।यी अनेक मोहब्बतका किस्साहरुमा आफै डुब्नु र आफै तैरिनु त छदैछ।ती किस्साहरुको एकान्तवासमा म सधै शरदको प्रेमिल आकाश जसरी हरेक छुवाईहरुमा अवतीर्ण भइदिन्छु।ती छुवाईहरुको अनुहारमा बगिरहने तुफान हेरेर फेरि म शान्त र शालीन अनुभूति लिएर साँझ जसरी पोखिन्छु।छट्पटाउछु यस्ता दिव्य दिप्तिको चुहावटमा नाच्नु पर्दा तर छट्पटीको तलाशमा भौतारिनुको केहि कारणहरु छन्।ती कारणहरु म नभइदिएर अरु कोहि भइदिएको हुन सक्छ।मसम्म आइनपुगेर क्षितिजमा आफ्ना ओठ लतार्दै बसेको पनि हुन सक्छ।
धेरै पछि यस्तै किस्साहरुमा चुर्लुम्म डुबेर उपासना गर्दै बसे म एकजना अदभूत पात्रमा लिन भएर।कविता जस्तो चलचित्र केहिकेहि हेरेको छु भन्नु पर्छ।जसको रोशनिमा म सुरक्षित भइ बस्थे। यसपटक चलचित्र हैन कविता हेरेँ।त्यस्तो कविता जसको मद्होसिपनाले मलाई नङ्ग्याएर छाड्यो।जसको चिल्लो स्तनमा मेरा फकिर आँखाहरु पखालिए।यसबेला म त्यो सुवासको धुपौरो बोकेर आफैबाट चोइटिदै खस्ने गर्छु।त्यसकै यादलाई आँखाको दिपक सम्झेर कहिले झरिहरुमा उनलाई भेट्छु त कहिले दृष्टिविहीन सडकहरुको पेटिमा छामछाम छुमछुम गर्दै म आफ्नो घरको बाटो पहिल्याउन सक्छु।यहि चलचित्र जसको प्रियसि पात्र मिजाको बूढो हड्डीमा म कहिले धमिरा भएर हिडुंँ जस्तो लाग्छ त कहिले मत्स्यको स्वरुप लिएर लहरहरुमा पनि पौडुुं झैं लाग्छ।
जिवनका अनेक अनेक दोबाटोमा आफ्ना पैतालाहरु दबाएर हिडेको छु।ती बाटाहरुमा फर्किए भने फेरि आफैलाई भुलिदिन सक्छु।तर मिजाको आँखाले टिप्न खोजेका कविताका बुँदहरु हेर्दै म पनि हैरान भएको छु।कहिलै त्यसरी बुझिएन आजसम्म कि कविको यावत् सत्य असत्यहरु उसको महसुस गर्ने तवरमा लुक्दो रहेछ ।त्यो पत्ता लगाउन नसकेर कतिपटक भौतारिदै हराएको छु हिडाईको नाम गरेर।उनले मात्रै एउटा कविता लेख्छन् जसलाई उमेरको कुनै पर्वाह रहेन।समयको कुनै छेकबार भएन।हरेक गुम्साहटबाट मुन्टो झिकेर अनन्त तिर हिड्नु थियो उनलाई।एउटा कविताको संगिन रोपेर कसैलाई यति धेरै प्रश्निल छाडिदिन पनि केही यस्ता जिप्सी पात्रहरुमात्र सफल भइदिन्छ्न्।शब्दहरुको नादान ओठबाट बज्ने त्यस्तो उम्मिद जसलाई निदानको आकारमा बेर्न सायदै सकिएला।उनको पदचापमा हाम्रा उकुसमुकुसले बहकिने बहाना भेट्लान कि?बहाना केही नभए पनि उनको त्यो कवितालाई यहि छाडिदिन मन लाग्यो:
त्यहाँ के कस्तो छ?
के कति एक्लोपना छ?
अझै पनि रातो रङ चम्किरहेको छ सुर्यास्तमा?
अझै पनि चराहरु गाइरहेका छन् जङ्गलको बाटोमा?
के तिमिलाई त्यो पत्र मिल्यो जसलाई मेले पठाउने सहास जुटाइन?
के म बताउन सक्छु…
बताउनको लागि मैले हिम्मत गरिन?
के समय बित्छ र गुलाब फिका भइदिन्छ?
छुट्दैछु भन्नुपर्ने समय हो यो
हावा जसरी भौतारिदै र बाटो लाग्दै,
बस् छाया जसरी
त्यो बाचाको लागि जो कहिल्यै आएन
त्यो प्रेमको लागि जो छिपिरह्यो अन्तिमसम्म।
बुट्यानको लागि जसले थाकेका हड्डिहरु चुमिरहेर
मलाई पछ्याउने मसिना पैतालाहरुको लागि
छुट्दै छु भन्नू पर्ने समय आयो
अब अध्यारो खसेपछी
के एउटा मैनबत्ती फेरि उजेलिन्छ?
यहाँ म प्रार्थना गर्छु…
कसैले रुनु पर्दैन
र
तिम्रो जानकारिको लागि..
कति कति गहिराइमा मैले तिमिलाई प्रेम गरिरहेँ…
त्यो लामो पर्खाइ ग्रीष्मकालिन गर्मीको मध्यदिनमा
मेरो पिताको अनुहार जस्तो आदिम बाटो….
''शिरीष''