उषा पाण्डे, काठमाडौँ | मैले सोफोक्लिजलाई नजान्दै वा जान्ने बेला नहुँदै पहिलोपल्ट उनलाई पुरानो बानेश्वरको उकालो नउक्लिँदै डाँडामा गजक्क परेर थपक्क बसेको गुरुकुलमा भेटेकी हुँ । दोस्रोपल्ट किताबका आत्मिय पानाहरुमा भेटेँ भने तेस्रोपल्ट यो कोलाहालबाट यस्सो पन्छिने मेसो गर्दै गर्दा मण्डलामा भेट भयो। उनीसँगको हरेक भेटमा मलाई लाग्छ म उनका पैतालाका डोबहरु पछ्याउँदै थिबिजका प्रचिन जङ्गलमा उनको भाग्यलाई अनि उनले जन्माएका 'इडिपस'हरुलाई भेट्न पुग्छु । अचम्म!! मेरा प्रत्येक भेटहरुमा उनी मेरालागि एक अञ्जुली विश्वास र थोरै भाग्य बोकेर आउँछन् भने थोरै उकुसमुकुस र बैचनी छोडेर जान्छन् । यो पटकको भेट खास अलि फरक अनुभुती अनि योजना अनुसार भयो। उनी मजस्ता हजारौँलाई पर्खेर बसिरहेका थिए म भने उनले जन्मएका केहि थान पात्रहरुमाझ उनलाई खोज्न सानो तर खोक्रो मस्तिष्क बोकेर गएकी थिँए । सोफोक्लिज मलाई यसकारण पनि मन पर्छन कि, नाटकभर उनि कहील्यै बोल्दैनन् उनका कोरसहरु यसरी बोल्छन् मानौँ पात्रहरु तीनकै इसारामा चलिरहेछन् र नाटकका गोठाला पनि तिनै हुन् । वास्तबमा कतै किताबका ठेलीभित्र मस्त सुतिरहेका वा भनौँ कुनै पाठको मस्तिष्कमा बिश्राम गरिरहेका पात्रहरुलाई बिउँझाउनु एक प्रकारले जोखिम हो, ति पात्रहरुसँग पौँठेजोरी खेल्नु साहस पनि हो ।

'थेबिज'का महान राजा इडिपस अनि उसको भाग्य, उनले भोगेको बियोग र पीडा यति नै पर्याप्त हुनुपर्ने हो एउटा बियोगान्त नाटकका लागी तर एउटा लेखकको मन उसको सृजना त्यति साँघुरो कहाँ हुन्थ्यो र ? श्रापित भाग्य बोकेर जन्मिएका थिए एटियोक्लिज र पोलिनिसस । युद्दमा ज्यान गुमाएका यि दुइ दाजुभाइको सदगतका क्रममा राजा (मामा) क्रियोनले लिएको निर्णय नाटकलाई अर्को दिशातर्फ मोडिदिने कारक हो । कर्मका नाममा पद, शक्ति, र अहमले उन्मत्त क्रियोनले पोलिनिससको लासमाथी गरेको दुर्व्यवहार बहिनी अन्टिगोनिको लागी सह्य हुदैन। आफ्नो कर्तव्यले निम्त्याउने परिणाम स्विकार गर्ने साहसका साथ अन्तिम संस्कार सम्पन्न गर्नु भाग्यको एउटा अनौठो खेल नै साबित हुन्छ ।अन्तर्यामी टाइरेसियाको भविश्यवाणिलाई लत्याएका क्रियोन आफैँ दुर्भाग्यको सिकार बन्छन् । आफ्नी प्रेयसीको बियोगमा मृत्यु रोजेको राजकुमार हेमन र पुत्र शोकमा आत्माघात गरेकी रानी युरेडाइस क्रियोनको भाग्यले दुर्भाग्यतिर लाखेटिएका पात्रहरु हुन् । आफ्ना पात्रहरुलाई भाग्यकाे खेलमा डुबाउन खप्पिस सोफोक्लिजले दुर्भाग्यकाे अन्त्यहिन कहानीलाई एन्टिगोनीमा समेटेका छन् । इशापुर्व ४४१ ताका रचिएको यस नाटक हेर्दा लाग्छ हामी आज पनि त्यही युगमा बाँचेका छौँ, मात्र हाम्रो दैनिकी फेरिएको छ, पात्रहरु फेरिएका छन् र हाम्रो आँखा अगाडिको दृश्य फेरिएको छ । वास्तवमा हामी त्यहि भाग्यले लखेटेका पात्र हौँ जहाँ आफु हुनुको गर्वले, अहमले हाम्रो भाग्यकाे गलत फैसला गरिदिन्छ । सोफोक्लिजले जति बेलाको समाजको सभ्यता, राजनीति र बैचारिक एवम् लैङ्गिक विभेदको प्रसङ्गलाई नाटकमा जोडेका छन्। त्यो हेर्दा र मनन गर्दा लाग्छ हामी आधुनिक युगमा बाँचेको भ्रममा छौँ । आज पनि हाम्रो समाजमा एन्टिगोनीहरु जन्मिन सकेका छैनन्, क्रियोनहरु आफ्नो शासनको पाँसो थाप्न माहिर नै छन् तर अवश्य इतिहासको चक्र घुम्दै भाग्यले खोज्दै आउने छ । यसरी क्रियोनको अहमको अन्त्य आफ्ना प्रियजनहरुको विछोडपछी हुन्छ एन्टिगोनिको सत्यता अमरता रोजेर दाजुको सदगत गरेर मृत्यु रोजेपछी प्रमाणित हुन्छ ।नाटकमा प्रमुख पात्रको रुपमा रहेकी एन्टिगोनी बिद्रोही र साहसी नारी पात्र मात्र नभै 'प्लेटो'ले 'द रोल अफ वुमन इन आइडियल स्टेट'मा गरेको महिलाको कार्य विभाजनलाई समेत प्रश्न गरेकाे छ ।

इतिहासको दस्ताबेज नाटक एन्टिगोनिलाई मन्चमा उतारेर निर्देशक राजन खतिवडाले तारिफयोग्य काम त गरेका छन् नै कलाकारहरुको मेहेनत पनि सरहानीय छ । नाटकमा संवादलाई प्राथमिकता दिएको आभाष भए पनि करिब डेढ घन्टाको समय बित्न घडी हेर्नु नपर्ने हुन्छ । नाटकमा सृजना सुब्बा, विजय बराल, रञ्जना ओली, सोमनाथ खनाल,पशुपती राई, अनुजा अधिकारी लगायतका कलाकारको अभिनय रहेकाे छ । नाटक साउन २२ गतेसम्म मण्डला थिएटरमा सोमबार बाहेक हरेक साँझ ५:३० र शनिबार दिउँसो १ बजे मन्चन हुनेछ ।