पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा तातो बहस चलिरहेको छ । यति बेला चलिरहेको चलचित्र महोत्सव (निम्फ)मा उठेको चलचित्र कलाको लागी कि व्यवसायको लागी भन्ने बहसले माहौल तताइरहेको हो । यही महोत्सवमा सहभागी हुन निम्त्याइएका भारतीय निर्देशक प्रकाश झाले यो प्रसङ्ग उठाएका हुन् । विहारमा हुर्किएका झा बलिउडका राम्रा निर्देशकमा पर्छन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको तेस्रो संस्करणमा फिचर फिल्म तर्फको जुरी हेड समेत रहेका झा झन्डै एक साता नेपाल बस्नेछन् । बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को कार्यक्रममा बोल्दै उनले फिल्म मार्फत विभिन्न देशका संस्कृति हेर्न आतुर रहेको बताएका थिए । यसै क्रममा उनले प्रकाशलाई घरमै काम गर्ने ललिता बाइले 'अर्को पटक फिल्म बनाउनु!' भनेपछि उनले आर्टलाई कमर्सियल भ्यालुसँग मिक्स गरेको बताए । फिल्म भनेको व्यवसाय हो त्यसैले हलसम्म आउने दर्शक तपाइको कामबाट सन्तुष्ट हुनुपर्छ । हामीले कलात्मक अभिव्यक्तिको लागि फिल्म बनाउने गरेका छौ भन्छौ भने हामी झुट बोलिरहेका छौ ।’ उनले व्यावसायिक फिल्म बनाउनु गलत नभएको समेत बताए । उनले थपे, 'म जबसम्म आर्थिक रूपमा मजबुत हुँदिन , मैले भन्न चाहेको कथालाई फिल्मको रूप दिन सक्दिनँ' ।
उनले कार्यक्रममा बोलेको यो अन्तिम दुई वाक्यले नेपाली फिल्म इन्डस्ट्रीका गन्य मान्य मानिने निर्माता निर्देशकको समेत ध्यान तानेको छ । साँच्चै नेपाल मा कलाको लागी फिल्म बनाइन्छ कि व्यवसायको लागी ? यो फिल्म इन्डस्ट्रीमा लागेका हरेकले सोच्नु पर्ने भएको छ । यसको असर धेरै फिल्म कर्मीमा परेको देखिन्छ । यसै विषयमा सफल निर्माता र कलाकारको रूपमा स्थापित दीपक राज गिरीले झाको भनाइलाई उदृत गर्दै आफ्नो विचार राखेका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, 'यहाँ कलात्मकताका मात्रै कुरा गर्ने फिल्म निर्माताले बुझ्नु पर्छ संसारमा हरेक कला व्यवसायिकताको तराजु मै नापिन्छ' । उनको यो कुरामा आफ्नो विचार धेरैले राखेका छन् जसमा निर्देशक प्रदीप भट्टराई पनि रहेका छन् । उनी भन्छन्, 'फिल्म कलाकै लागि बनाउने हो दीपक दाइ तर त्यो कलामा दर्शकको मन, मस्तिष्क र निर्माताको पैसा तान्ने कला चैँ हुनुपर्छ' । यस विचारमा दीपक राज गिरीलाई घमन्डी भन्नेको पनि कम छैन तर अधिकांशले कला चलचित्रको मुटु भएको विचार राखेका छन् । नेपाली चलचित्रको बजारलाई हेर्ने हो भने फरक विषय वस्तुमा निर्माण भएका र सामाजिक विषय उठान गरेका चलचित्रले हलमा पानी पनि भन्न नपाएको तथ्य हामीसँग छ ।
यद्यपि ती चलचित्रले अन्तर्राष्ट्रिय जगतमा आफूलाई चिनाउन भने सफल भएका छन् । यसरी उठेको बहसमा चिन्तन र प्रयोग पनि गरियो भने ओरालो झारिरहेको नेपाली चलचित्र केही माथि अवश्य उठ्ने छ र पुरातन रूपमा दिमागमा गाडिएर बसेको चलचित्र प्रतिको सोचले केही फरक पन पाउनेछ । तर बहसको रूपमा आफ्नो विचार माथि पार्ने होडले भने उल्टै हामीलाई पोल्नेछ ।