“पहिलो हाफ राम्रो
दोस्रो हाफमा अपेक्षा पुरा भएन हाम्रो
प्रदिप खड्का अब्बल, नायिकापनी उस्तै भए मजा आउँथ्यो डब्बल
उत्कृष्ट छायाङ्कन उस्तै छ गीत सङ्गीत
सन्तोष सेनको फाइट दामि कमजोर भयो एक्टिङ
दोस्रो हाफको कमजोरी नबनेमा घातक
राम्रो निर्देशक कहलिनेछन् राम शरण पाठक
खर्च निकै भएको होला रारा, थाइल्याण्ड, म्यानमार
आम दर्शकलाई राम्रै लाग्ला राम्रै गर्ला व्यापार !!!”
माथि उल्लिखित हरफहरु चलचित्र ‘प्रेमगित–२’ पहिलो दिन पहिलो सो हेरी सकेपछी फेसबुकमा मैले पोस्ट गरेको हरफहरु हुन् । ‘प्रेमगित–२’ लाई लिएर मेरो छोटोमिठो निष्कर्ष पनि यहिनै हो । चलचित्र प्रदर्शनमा आएको एक साता नाघि सकेको छ र निर्माण पक्षलाई विश्वास गर्ने हो भने चलचित्र सुपरहिट समेत भई सकेको छ । यति बेला म चलचित्रको समीक्षा गर्दै छुइन् तर नेपाली चलचित्र जगतमा चलाउनु पर्ने बहसको एउटा पाटोलाइ उजागर गर्ने जमर्को गर्दैछु ।
साँच्चै राम्रो बनेको छ त ‘प्रेमगित–२’ ?
चलचित्र प्रदर्शन भएको करिब २ दिन पछि निर्देशक राम शरण पाठकले “यस्तो राम्रो नेपाली चलचित्र बन्छ भने किन हेर्ने बलिउड चलचित्र ?” शीर्षकमा कुनै एउटा अनलाइनले लेखेको समाचार सामाग्री शेयर गरे । चलचित्र हेरी सकेपछी दर्शकले दिएको प्रतिक्रियाको रूपमा लेखिएको समाचार थियो त्यो । निर्माण पक्षका अन्य सदस्यले पनि सोही भावका समाचार सामाग्री शेयर गरी रहेको देख्न पाइन्थ्यो । स्वभाबिक हो जो कोहीले पनि आफ्नो चलचित्रको सकारात्मक प्रचार प्रसार गर्दछ । तर ‘प्रेमगित–२’ युनिटलाइ आफ्नो चलचित्र साँच्चै उत्कृष्ट लागेको छ भने त्यो भ्रम हो, समग्रमा चलचित्र प्रचार गरिए जस्तो उत्कृष्ट छैन । केही कमी कमजोरीलाई बेवास्ता गर्ने हो भने चलचित्रको पहिलो हाफ राम्रो छ तर दोस्रो हाफमा गएर चलचित्रले लय गुमाएको छ । दोस्रो हाफमा चलचित्रको कथा बस्तु तथा प्रस्तुतिनै कमजोर छ । निर्माण पक्षले यो बास्तबिक्तालाइ नबुझ्ने अथवा नस्विकार्ने हो भने आगामी चलचित्रमा सुधार कसरी हुन्छ ?
नेपाली चलचित्र भनेर कहिले सम्म माफ गर्नेे ?
“नेपाली चलचित्रलाई नेपाली आँखाले हेरौ ।” धेरै नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले भन्ने तर व्यक्तिगत रूपमा म कहिल्यै सहमत हुन नसकेको भनाइ हो यो । दर्शकले सधैँ उत्कृष्ट चलचित्र हेर्ने चाहा राख्छन् । उनीहरूलाई यो चाहाना राख्ने अधिकार पनि छ । प्रतिष्पर्धात्मक यस युगमा अरबौमा बनेको हलिउड चलचित्र, करोडौमा बनेको बलिउड चलचित्र र लाखौमा बनेको नेपाली चलचित्रले एउटै छानो मुनि प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता छ । दर्शकले राम्रो चलचित्र छानेर हेर्ने हुन् । बजेटको आकार, निर्माता निर्देशकको समस्या, कलाकारको अप्ठेरोले दर्शकको आँखालाई फरक पार्दैन । बिग मुभिजमा प्रेमगित–२ हेर्दै थिँए, एउटा दृश्यमा कथाले कुनै बाध्यकारी अबस्थानै सिर्जना नगरी नायकले झाडा चलाउने औषधि हालेको पानी पिउँछ , मेरो छेउकै सिटमा बसेको एउटा व्यक्तिले अर्को सिटमा बसेको आफ्नो साथीसँग कानेखुसी गरी हाल्यो “ यस्तो नि हुन्छ ? हावा तालमा किन पिएको त्यो पानी ?” साथीले जबाफ दियो “ छोड्दे यार नेपाली फिल्म हो । ” कुनै कुनै दृश्यमा नायिकाको अभिनय अलि बढिनै कमजोर लाग्थ्यो, ती दुई साथी त्यसै गरी कानेखुसी गर्थे, अर्कोले पहिलेकै लवाजमा थुमथुम्याउथ्यो “ छोड्दे यार नेपाली फिल्म हो । ” चलचित्रको दोस्रो हाफमा त्यो कानेखुसीको क्रम अझै बढी चल्यो, साथीले पटक पटक उसैगरी थुमथुम्याइ रह्यो “ छोड्दे यार नेपाली फिल्म हो । ” हामी हलिउड र बलिउडको तुलनामा लगानी गरेर चलचित्र त बनाउन सक्दैनौ तर कथा, पटकथा, संवाद, अभिनय, प्रस्तुति लगायतका विषयमा मेहनत गर्न त अवश्य सक्छौ नि । आखिर कहिले सम्म नेपाली चलचित्र भनेर दर्शकले क्षमा दिई रहनु पर्ने हो ?
चलचित्र त चले तर यसरी नेपाली चलचित्र क्षेत्र चल्छ त ?
पछिल्लो समय क्रमशः प्र्रदर्शनमा आएका तिन नेपाली चलचित्रहरु ‘धनपति’, ‘म यस्तो गीत गाउछ’ र ‘प्रेमगित–२’ ले व्यावसायिक सफलता हात पारे । एकपछि अर्को क्रमशः तिनवटा चलचित्र सफल हुनु नेपाली चलचित्र क्षेत्रकालागी पक्कैपनी खुसीको कुरा हो । तर यी तिन चलचित्र मध्य धनपतिलाइ छोड्ने हो भने ‘म यस्तो गीत गाँउछु’ र ‘प्रेमगित–२’ आफैमा सशक्त चलचित्र भने होइनन् । तर दुवै चलचित्रसँग सम्बन्धित पक्षहरू यति बेला वास्तविक प्रतिक्रियामा भन्दापनी प्रायोजित प्रचरबाजीमा रमाई रहेको जस्तो देखिन्छ । सकारात्मक सुझाव तथा प्रतिक्रियालाइ ग्रहण नगर्ने हो र आफ्नो कमी कमजोरीलाई नस्वीकार्ने हो भने कसरी आगामी चलचित्रहरुमा अहिले भएका कमी कमजोरी सुधार गर्न सकिन्छ ? अनि सधैँ कमजोर चलचित्रहरुबाट दर्शकको साथ र सफलताको अपेक्षा गरेर समग्र नेपाली चलचित्रको विकास र स्तरोन्ती कसरी हुन्छ ?