वर्षौँदेखी

व्यस्त पसलको ठिक ढोका सामुन्ने

ह्याङ्गरमा झुण्डिएको छ एउटा टिसर्ट

 

कोही आए ट्राइ गरे

साइज मिलेन र फुकालेर त्यहीँ झुण्डाएर गए

कोहि आए, प्राइस ड्याग हेरे, सुमसुम्याए

खल्ती छामे र फर्केर हेर्दै गए

कोहि लठ्ठी टेक्दै–टेक्दै आए, परैबाट नियालेर हेरे

केही सम्झिए जस्तो गरे र खोक्दै–खोक्दै गए

 

कोही आए हातमा गुलाफ बोकेर

ओल्टाइल्टाइ गरे र कलर मन परेन भनेर गए

कोहि आए, मन पराए

मुल्यमा सम्झौता हुन सकेन र त्यहीँ छाडेर गए

 

वर्षौँदेखी

व्यस्त पसलको ठिक ढोका सामुन्ने

ह्याङ्गरमा झुण्डिएको छ एउटा टिसर्ट

 

ऊ बारबार कुचीले धुलो टक्टकाइरहन्छ

मानौँ, ऊ ऐना हेर्न बिर्सिगएको युवती हो

घरिघरि बतासका मिठो स्पर्शहरुसँग तर्सिन्छ

मानौँ, ऊ बलत्कार पछि हाँगामा झुण्डिएको सलवार हो

 

कहिलेकाही कलिलो घाम टुप्लुक्क आइदिन्छ

र गिज्याएर गइदिन्छ

मानौँ, ऊ बाह्रखरी पढिरहेको वृद्ध मानिस हो

 

तीनपटक घटिसक्यो उसको –बिक्री मुल्य

 

वर्षौँदेखी

व्यस्त पसलको ठिक ढोका सामुन्ने

ह्याङ्गरमा झुन्डिएको छ एउटा टिसर्ट

 

उसँग रहरहरुको बगैँचा नै थियो

 

कसैको जिउमा सजिएर नजरहरुबाट सताइमाग्ने

कसैको जिउमा सजिएर प्रशंसाको तलाउमा चुर्लुम्म डुब्ने

कसैको जिउमा सजिएर पत्रिकाहरुको फ्रन्ट पेजमा देखिने

 

ती सब रहरहरुले  क्रमशस् आत्महत्या गरिसके

 

वर्षौँदेखी

व्यस्त पसलको ठिक ढोका सामुन्ने

ह्याङ्गरमा झुन्डिएको छ एउटा टिसर्ट

 

झुण्डिरहेछ ऊ

मानचित्रबाट गायब देशको नागरिकता झैँ झुण्डिरहेछ

 

उसलाई थाहा छ

ऊ बिक्री हुन नसक्ने पसलभरिकै पुरानो र अन्तिम पिस हो