शेर्पा दाइ
ठ्याक्कै पाँच वर्षअघि
म यहीँ थिएँ— मिल्केको काखमा
जसरी छु यहीँ आज पनि
शेर्पा दाइ
आज बेढङ्ग बेढङ्गमै
यो बेसोमती जाडो
किन इत्रिन्छ हँ ?
मसँग यसरी
जाडोकै मौसम लडाइँ हुँदा
चौंरी चराउँदा चराउँदै हराएकी हुन्
मेरी प्रेमिका
यहीँ मुन्तिरको जङ्गलमा
र, भेटिएकी हुन् धेरै पछि
यतैकतैको चिहानघारीमा
सायद यो शीतलहर
हराएकी मेरै प्रेयसीको आँसु हुनुपर्छ
सायद यो जाडो
हराएकी मेरै प्रेमिकाको सन्देश हुनुपर्छ
र, नै इत्रिँदैछ
— यो बेसोमती जाडो
निर्धक्क मसँग यसरी
म त फेरि छाडेर जानेछु यो ठाउँ
बिन्ती छ !
शेर्पा दाइ
लगेर ओढाइ दिनू—
रातो गुराँसे सिरक
बेरिदिनू—
एक हूल किरणको फरिया
र, कोरिदिनू—
निगालोको एक काँटी सलाई
प्रेयसी जाडोलाई !