गर्भेशिशु चुप बस्दैन
अामा ढुङ्गा हैन

संसारमा कवि एउटा चुप्प लाग्ने बाख्रा हो
यदि भने,
शब्द एउटा बाघ हुँदैन
कविता बाघहरुको जंगल पनि हुँदैन

रुखको गर्जन थाहा पाउन
एउटा पहेँलाे पातको अावाज काफि हुँदैन

पातको डढेलाे पातमै सीमित नहुन सक्छ

दुखेको कपालको अपर्झट पतनको हल्ला कति हुन्छ?
खोकीले हुत्याएको थुक मार्बल-भुईँमाथि गिर्दाको हल्ला नि?

ब्रह्माण्ड कतिखेर चुप लाग्छ ?

तुफान चुप लाग्न सक्छ
चट्याङ नि चुप्प लागेर खजुराको जिब्रोमा बस्न सक्छ
वा बोतङको पातमा सुत्न सक्छ

जापानमा भन्दा पैले भूकम्प अामाको पाइलामुनि चुप लाग्न सक्छ

अामाको पाइला ठेस लगाउने ढुङ्गा अाफैँ हल्ला गर्दैन
चुप हुनु अावाजै नहुनु चैं हैन
चारतिर चुप मात्र छ
तर चुप नै सबभन्दा चर्काे चीत्कार हुन सक्छ !

*बोतङ : गुरुङ समुदायमा यो रुख घर वा मान्छे नजिक नरोप्ने गर्छन्, रोपेमा चट्याङ अामन्त्र्याउने विश्वास गर्छन्।