कलाकार दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्ने अभिव्यक्ति दिएपछि यति बेला राजेश हमाल चर्चामा छन् । हमालको महानायक पदवीमाथि प्रश्न उठाएपछि दीपाश्री आलोचित त भइन नै राजेश हमालबारे सञ्चारमाध्यममा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । सामाजिक सञ्जाल मा आलोचनाले उग्र रूप लिएपछि दीपाश्रीले आफूले भन्न खोजेको आशय हमाल महानायक होइनन् भन्ने नभएको भनी माफी पनि मागिन् । यही विषयलाई लिएर तर्क वितर्क भइरहेको बेला राजेश हमालले शुक्रवार सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गरेका छन् । जसमा उनले आफूलाई कसैले महानायक भने पनि नभने पनि खासै फरक नपर्ने आशय प्रकट गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘शुभ दिन। तपाईँको जीवनको खुसी तपाईँको विचारहरूमा निर्भर गर्दछ। तपाई आफ्नो विचारको उत्पादक आफैँ हो ।’ उनको यो अभिव्यक्तिबाट आफूलाई दर्शकले दिएको महानायकको सम्मान बारे बाहिर आलोचना भए पनि र विवाद बढे पनि यसलाई सामान्य रूपमा लिने उनको आशय रहेको छ । उनले आफ्नो विचारका कारण नै आफू दुखी या खुसी हुने उनको तर्क छ ।