कोरोना भाइरसको महामारीका बेला सुरक्षित तरिकाले तीज मनाऔँ भन्ने सन्देश सहितको तीज गीत सार्वजनिक भएको छ । 'सुरक्षित तीज' बोलको तीज गीत मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा गरिमा ज्ञवालीको स्वर दयाराम पाण्डेको शब्द तथा बीबी अनुरागीको सङ्गीत संयोजन रहेको छ । यस महामारीमा सुरक्षित भएर आफ्नै घरमा तीज मनाऔँ र खुसी साटौँ भन्ने भावको गीतको भिडियोमा रुबिना अधिकारी, नग्मा श्रेष्ठ, बिनु शाक्य, गुराँस ढकाल तथा बाल कलाकार आयुषी ढकाल फिचर्ड छन् । भिडियोमा स्पेसल गेस्टको रुपमा बिष्णु रिजाल, कबिता गेलाल, एस राज गरच, दीपाज राज पाठक, अन्जिता अधिकारी, उर्मिला पुडासैनी उपस्थित छन् । भिडियोमा सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् भने समान अधिकारीले निर्देशन गरेका हुन् । यसलाई फराज अर्पनले खिचेका हुन् भने सम्पादन पनि उनैले गरेका हुन् । तीज नजिकिँदै जाँदा बढिरहेको कोरोना महामारीले पहिले झैँ उल्लास र रौनक नदेखिने र गर्न पनि नमिल्ने भएपछि तीजलाई सुरक्षित र संयमता पूर्वक मनाऔँ भन्ने सन्देश गीतमा समावेश गरिएको हो ।