यति बेला कोरोना भाइरसले कसैलाई पनि छोडेको छैन । दिन प्रतिदिन कोरोना सङ्क्रमणको जोखिम बढेसँगै त्रास र असुरक्षित महसुस भइरहेको छ । यसैबिच लकडाउन केही खुकुलो भएसँगै चलचित्र क्षेत्र पनि केही चलायमान भएको थियो । म्युजिक भिडियो लगायत छोटो समयमा छायाङ्कन सकिने विज्ञापन रियालिटी शोजहरूको छायाङ्कन तथा प्रसारण सुरु भएको छ । तर काठमान्डौ लगायत देशका धेरै स्थानमा कोरोना सङ्क्रमित बढिरहेका छन् । यसले छायाङ्कन तथा अन्य कार्यक्रम वा समारोहमा सहभागी भएका कलाकार पनि सङ्क्रमित हुने जोखिम बढेको छ । यसै बिच अभिनेता अनमोल केसीलाई कोरोना भाइरस सङ्क्रमण भएको हुनसक्ने आशङ्कामा परीक्षण गरिएको छ । केही दिन अगाडी एक स्कुटरको विज्ञापन छायाङ्कन गरेका थिए । यसै क्रममा छायाङ्कनमा संलग्न एक टिम मेम्बरलाई कोरोना पोजेटिभ देखी पछि अनमोलले पनि टेस्ट गराएका हुन् । उनको रिपोर्ट भने आइनसकेको बताइएको छ । उनले घरमा नै केही समय आराम गरेर दुई दिन अघी टेस्ट गराएको पारिवारिक श्रोतले जनाएको छ । यसैगरी अनमोलसँगै विज्ञापन सुट गरेकी अभिनेत्री उपासना सिंह ठकुरीको कोरोना टेस्ट गरिएको छ दुवै जनाको रिपोर्ट आउन बाँकी छ । पारिवारिक श्रोतका अनुसार उपासना ​पनि घरमा नै आइसोलेसनमा बसेकी छिन् ।  अनमोलले लकडाउन खुलेसँगै केही विज्ञापनको सुट गरेका छन् । कोरोना सङ्क्रमण बढेसँगै साउन अन्तिम साता फ्लोरमा जाने भनिएको अनमोल को मुख्य भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’ पुनः पछाडि धकेलिने पक्का पक्की भएको छ ।